आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

थाहा गोल्डकप फुटबल खेल्ने गोकर्णेश्वरका खेलाडीहरुलाई बिदाई

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार २१:०५ मा प्रकाशित (२ साल अघि) १६९ पाठक संख्या

२८ पुष, काठमाडौं । थाहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने गोकर्णेश्वर युवा जागरण क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ ।

थाहा नगरपालिका खेलकुद विकास समितिद्वारा आयोजना गरिएको तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने गोकर्णेश्वर नगरपालिकाका खेलाडीहरुलाई बुधबार खेल सामग्री हस्तान्तरण गरी बिदाइ गरिएको हो । कार्यक्रममा टिम क्याप्टेन अमित श्रेष्ठलाई बल हस्तान्तरण गरिएको थियो ।

प्रतियोगिता पुष २६ गतेबाट शुरु भईसकेको छ । प्रतियोगितामा भोली पौष २९ गते गोकर्णेश्वरका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
कार्यक्रम गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा खेलाडीहरुलाई प्रमुख अतिथि र बिशेष अतिथिले खेल सामग्री र जर्सी हस्तान्तरण गरेका थिए । बिदाइ कार्यक्रममा भूतपूर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय प्रशिक्षक चेत नारायण श्रेष्ठ, गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार एवम् कोच ज्ञान कुमार श्रेष्ठ, गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियार एवम् खेलाडी तथा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाले उच्च मनोबलका साथ खेल खेल्दै जितका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, विशेष अतिथी श्रीकुमार श्रेष्ठले खेलाडिहरुलाई जितको शुभकामना दिंदै नगरपालिकाको नाम राख्ने गरी अनुशासित भई खेल्न आग्रह गरे ।

कार्यक्रम गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठको सभापतित्वमा भएको थियो । श्रेष्ठ टिम म्यानेजर समेत रहेका छन् । कार्यक्रम संचालन क्लबका सदस्य रेखा बस्नेतले गरेकी थिइन ।