आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिए

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार १५:३८ मा प्रकाशित (२ साल अघि) १६४ पाठक संख्या

२८ पुष, काठमाडौं । भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित झण्डै दुई लाख थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या नौ लाख ५५ हजार ३१९ रहेको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित रहेको जनाइएको छ ।

अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मङ्गलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित थिए ।