आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

स्कन्ध पुराणमा लेखिएजस्तो भगवान श्रीकृष्णको पदचिह्न भेटिएको दावी

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार ०८:२५ मा प्रकाशित (२ साल अघि) ५७० पाठक संख्या

२८ पुष, काठमाडौं । स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवान्का पदचिह्न रहेको उल्लेख छ । त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २ विष्णुपादुकामा भेटिएको छ । अन्नपूर्ण पोष्टको अनलाईन संस्करणका अनुसार श्रीकृष्ण भगवानका दुई पाउ भएको दाबी जगद्गुरु मोहनशरण देवाचार्यले गरेका छन् । पुरातत्त्व विभागले भने त्यसको अध्ययन गरी पुष्टि गर्न बाँकी छ ।

‘१८ पुराणमध्ये श्रीमद् स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा उल्लेख भएको भगवान् श्रीकृष्णको दुवै पाउ फेला परेको छ । यस हिसाबले यी पाउ साढे पाँच हजार वर्ष पुराना हुन्’, जगद्गुरु देवाचार्यले अन्नपूर्ण पोस्ट्सित भने, ‘मानस खण्डमा पढेपछि फेला पर्छ कि भनेर खोज्ने सोच आयो । सात वर्षको अथक प्रयासपछि बल्ल भेटियो।’ यस्तो अमूल्य निधि राष्ट्रमा दुर्लभ हुने जगद्गुरु देवाचार्यको भनाइ छ । उक्त स्थान फलाद्री र गरुडा पर्वतको मध्यभागमा कालंगा गंगाको किनार रहेको उनको भनाइ छ । यो नदीलाई मानस खण्डमा वीर्यवती नदी पनि भनिएको छ ।

‘हिमालदेखि तराई र पूर्वदेखि पश्चिम नेपालको चारकिल्लाभित्र श्रीकृष्णको पदचिह्न कहीँ छ भने यही मात्र छ । यो आधिकारिक र प्रामाणिक हो’, उनको तर्क छ । स्कन्द पुराणको हिमाद्री खण्ड हिमवत खण्ड र मानस खण्डले नेपालका समग्र धार्मिक क्षेत्रको व्याख्या गरेको पाइन्छ ।

मानस खण्डको १५७ को ४०, ४१ र ४२ नम्बर संस्कृतका श्लोकमा यस्तो लेखिएको छ, ‘सिद्धहरूको वाणी सुनेर भगवान् श्रीकृष्णले तथास्तु भनी सिद्धहरूसँग फलाद्री पर्वतमा चढ्नुभयो । पर्वत चढेर पार गरेपछि उहाँले फलाद्री र यज्ञपर्वतहरूका मध्ये झरेको जरासन्धको आधा शरीर देख्नुभयो। यसै ठाउँमा श्रीकृष्णले यौटा शिलामा आफ्नो पदचिह्न अंकित गर्नुभयो । सिद्धहरूले स्तुतिगान गरी बिदाइ गरेपछि श्रीकृष्ण इन्द्रप्रस्थतिर जानुभयो। भगवान् श्रीकृष्णका चरणचिह्न अंकित शिला अहिले पनि देख्न सकिन्छ । हे तपस्वीहरू हो ! यसकारण मानिसहरू भगवान् श्रीकृष्णका पदचिह्नको दर्शन गरी भीमको स्तुति गर्दछन् ।’

अन्नपूर्ण पोष्टको अनलाईन संस्करण अनुसार जगद्गुरुले आफ्नो महाकाली–मेची पैदल यात्राका क्रममा २०७२ सालमा श्रीकृष्णका पाउ (पाइताला)को खोजी सुरु गरेका थिए ।