आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरविरुद्ध महाभियोग लगाउन बारको आह्वान

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १९:४५ मा प्रकाशित (२ साल अघि) २८९ पाठक संख्या

२७ पुष, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । बारले प्रधानन्यायाधीश जबराले संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले महाअभियोग लगाउन आह्वान गरेको हो ।

बारले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘प्रधानन्यायाधीशले हालसम्म गरेका र सार्वजनिक भएका विकृति, विसंगतीजन्य कार्यहरू र निजले दुई महिनाभन्दा बढी अवधिसम्मको सवैधानिक दायित्व निर्वाह गर्न असक्षम रहेको आधार र कारण नै महाअभियोगको लागि पर्याप्त भएकोले त्यसतर्फ संसद्मा उपस्थित राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा यहाँहरूको सक्रिय साथ र सहयोगका लागि आह्वान गर्दछौं।’

बारले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘नैतिकताको आधारमा राजीनामा दिई प्रधानन्यायाधीशको पदको गरिमा कायम राख्न पर्नेमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्यसो गर्न सक्नुभएन । पदीय जिम्मेवारी पूरा गर्न असक्षम भईसक्दा पनि केवल औपचारिक हाजिरी जनाएर प्रधानन्यायाधीश राणाले थप क्षति पुर्याउन थालेको अवस्थामा संवैधानिक कर्तव्य निर्वाह गर्न हामीले संसदमा उपस्थित सबै राजनीतिक दलको नेतृत्व गर्ने शीर्ष नेताहरुलाई समेत ज्ञापनपत्र दिएको पनि करिब दुई महिना व्यतित भईसकेको छ । राजनीतिक दल तथा सांसदहरुले यस्तो संवेदनशिल विषयलाई हालसम्म पनि वेवास्ता गरिरहेकोले न्यायिक अराजकतालाई केही दिनसम्म पनि लम्बिन दिनु नेपालको न्यायपालिका, कार्यपालिका तथा संसदकोसमेत कसैको हितमा हुने देखेका छैनौं ।’