आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पूर्वराजा ज्ञानेन्द्रबाट राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा माल्यार्पण, उर्लियो जनसागर

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १४:०२ मा प्रकाशित (२ साल अघि) ५५९ पाठक संख्या

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूल गेटस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्व राजाले ३०० औं पृथ्वी जयन्तीको अवसरमा मध्यान्ह साढे १२ बजे शालिकमा माल्यार्पण गरेका हुन् ।

यस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, राप्रपाका नेता कमल थापा लगायतले पनि शालिकमा माल्यार्पण गरेका थिए । अहिले सिंहदरबारको गेटमा भीड लागेको छ । पूर्वराजा त्यहाँ पुग्दा सर्वसाधारणले उनको पक्षमा नाराबाजी गरेका थिए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीले आयोजना गरेको पृथ्वी जयन्तीको कार्यक्रम वहिष्कार गरे पनि सिंहदरवार पश्चिम गेटमा पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्मजयन्ती मनाइएको हो ।

वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका हुन् ।