आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

राष्ट्र बैंकको आर्थिक प्रक्षेपण : यस वर्ष पनि ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १०:५५ मा प्रकाशित (२ साल अघि) ४९७ पाठक संख्या

२६ पुष, काठमाडौं । कमजोर आर्थिक सूचकहरूको चपेटामा गुज्रिरहेको मुलुकमा यसपटक पनि लक्षित आर्थिक वृद्धिदर हासिल नहुने करिब पक्कापक्की जस्तै भएको छ । चालु आर्थिक वर्ष २०७८-७९ का लागि सरकारले अधिकतम ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

तर, चालु आर्थिक वर्षको सुरुवाती चरणमै देखिएको आर्थिक विचलन, तीव्र आयातकाबीच घट्दो रेमिट्यान्स र सोधनान्तर स्थिति, चालुखाता घाटाले राम्रो सङ्केत गरेको छैन ।

बढ्दो बजार महँगीसँगै अहिले बजारमा देखिएको तरलता (लगानी योग्य पुँजी) को अभावले यस वर्ष पनि लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसक्ने राष्ट्र बैंकले जनाएको छ । यस वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने गभर्नर अधिकारीको भनाई छ ।

आइतबार संसदीय समिति अन्तर्गतको लेखा समितिमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कमजोर आर्थिक सूचकहरूका बीच यस वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिदर पुरा नहुने बताए ।