आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रधानमन्त्री कप टी–२० प्रतियोगिता आजदेखि सुरु

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार ०८:३८ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

२६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।

यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी–२० फर्म्याटमा खेलाइँदैछ ।

त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । राष्ट्रिय टिमका कप्तान नियुक्त भएका सन्दीप लामिछाने भने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

प्रधानमन्त्री कप टी–२० प्रतियोगिताका खेलहरू यही पुष २६ देखि माघ ५ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

जसमा १० टिमले प्रतिस्पर्धा गर्दैछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

समूह बी मा साविक उपविजेता एपीएफसहित पाँच टोली समूह बी मा छन् । यस समूहमा प्रदेश २, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पनि छन् ।