आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रतिपक्षसँग ६ महिना पछि संवाद, संसद् खुलाउन ओली सकारात्मक

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार ०८:४१ मा प्रकाशित (२ साल अघि) ५४३ पाठक संख्या

२५ पुष, काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दलबीच करिब ६ महिनादेखिको संवादहीनता अन्त्य भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार करिब एक घण्टा वार्ता भएको छ । असार २९ मा प्रधानमन्त्री बनेयता देउवाको ओलीसँग यो पहिलो प्रत्यक्ष वार्ता हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चार महिनादेखि अवरुद्व संसद् खुलाउन अग्रसरता लिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सभामुखले गैरसंवैधानिक कार्य गरेको भन्दै गएको भदौ तेस्रो सातायता संसद्मा‌ निरन्तर अवरोध गर्दै आएको छ ।

देउवासँगको भेटघाट पछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै ओलीले छलफल राम्रो भएको प्रतिक्रिया दिएका थिए । ओली देउवा संवाद पछि संसद खुलाउन ओली केही लचक हुन सक्ने पनि विश्लेषण हुन थालेको छ ।

एमालेको अवरोधकै कारण देउवा प्रधानमन्त्री भएयता संसद्ले‌ राम्रोसँग काम गर्न पाएको छैन । प्रधानमन्त्री देउवाले संसद् निर्वाधरुपमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गर्न पटक–पटक सर्वदलीय बैठक र वार्ताको प्रयास गरे पनि एमालेले त्यस्ता बैठकहरू बहिस्कार गर्दै आएको थियो ।

देउवाले आफ्नो निमन्त्रणालाई पटक–पटक अस्वीकार गरे पनि संसद् सञ्चालनकै लागि एमालेलाई रिझाउन अग्रसरता लिएका हुन् । देउवाले शनिबार एमाले अध्यक्ष एवम् प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित उनको निवासमै पुगेर भेटवार्ता गरेका छन् ।