आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढी संक्रमित

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १६:१५ मा प्रकाशित (२ साल अघि) ४०५ पाठक संख्या

२४ पुष, काठमाडौं । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन एक लाख ४१ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमित थपिएका हुन् । यो संख्या अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी हो ।योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ८५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय ९१ पुगेको छ । भारतभर हाल ३ लाख ८६ हजार ५ सय एक जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ९५ जना निको भएको जनाएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ५० करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।