आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बौद्धमा प्रेमी–प्रेमिकाको मृत्यु,हत्यापछि आत्महत्याको अनुमान

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार १९:५३ मा प्रकाशित (२ साल अघि) १४७ पाठक संख्या

काठमाडौं । बौद्धको राधाकृष्ण मन्दिर नजिकको एक घरबाट प्रहरी कन्ट्रोल १०० मा गएराति १ बजेतिर खबर आयो, ‘एक जोडी युवा युवती रगताम्मे अवस्थामा लडिरहेका छन् ।’

दुई जना गम्भीर घाइते भएको थाहा पाउनेवित्तिकै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङ र महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीपराज गिरी नेतृत्वको टोली घटनास्थल पुग्यो ।

‘प्रहरी टोली पुग्दा केटाको सास चलिरहेको जस्तो देखिन्थ्यो, त्यसैले तत्काल अस्पताल पठाएका थियौं’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘तर अस्पतालमा चिकित्सकहरुले मृत घोषित गरे ।’

एसपी मैनालीका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भएका २५ वर्षीय अनिश जिमी र खोटाङकी २१ वर्षीया युसुना राई भएको खुलेको छ । उनीहरु युवकको आफन्तको घरमा सँगै बस्दै आएको पाइएको उनी बताउँछन् ।

पब्जीबाट जोडिएको सम्बन्ध

महानगरीय प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार दुईबीच चिनजान भएको पनि धेरै भएको थिएन । ‘२२ दिनअघि अनलाइन मोबाइल गेम पब्जी खेल्ने क्रममा चिनजान भएको देखिन्छ, पछि गेममै कुरा गर्दा गर्दैै प्रेम भएको खुलेको छ’ ती अधिकृत भन्छन्, ‘प्रेम भएको केही समयपछि नै उनीहरुसँगै बस्दै आएका थिए ।’

घरमा बस्ने अन्य व्यक्तिसँग सोधपुछ गर्दा उनीहरु प्रायः कोठाबाट ननिस्किने गरेको पाइएको प्रहरी स्रोत बताउँछ । प्रहरीका अनुसार घरका अन्य सदस्यहरुले उनीहरुले रातभरसम्म पनि गेम खेल्दै हल्ला गर्ने गरेको बताएका छन् ।

‘राति अबेरसम्म पनि उनीहरु हल्लाखल्ला गर्दै गेम खेल्दा रहेछन्’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बिहीबार राति पनि उनीहरु मासुचिउरा खाएर बसेका थिए, एक्कासी राति १ बजे आवाज आएको सुनेर घरका अन्य व्यक्ति कोठामा गएका रहेछन् ।’

झगडा भएको आवाज सुनेर जाँदा भित्रबाट कोठा बन्द थियो । प्रहरीका अनुसार घरमा बस्ने अन्य व्यक्तिले ढोका फोडेर भित्र प्रवेश गर्ने कोशिस गरे, १०० मा पनि जानकारी टिपाए ।

हत्यापछि आत्महत्या ?

महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्ण कोइरालाका अनुसार कोठाको ढोका छेऊमा युवक लडिरहेको अवस्थामा भेटिएका थिए, युवतीचाहिँ केही पर भेटिएकी थिइन् ।

‘अहिलेसम्मको परिस्थिति हेर्दा पहिले युवतीको मृत्यु भएको हो कि जस्तो देखिन्छ’ उनी भन्छन्, ‘यद्यपि, यसको यकिन पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हुनेछ ।’ घटनास्थलमा पुगेका फरेन्सिक विज्ञ चिकित्सकले पनि त्यसैको संकेत गरेको स्रोत बताउँछ ।

काठमाडौं प्रहरीका एक अधिकृतले पनि सामान्य विवादमा युवकले युवतीलाई छुरा प्रहार गरेको हुनसक्ने संकेत गरे । ‘हतियार बरामद भइसकेको छ, अहिलेसम्म बाहिरी व्यक्ति कसैको संलग्नता देखिएको छैन’ उनी भन्छन्, ‘यद्यपि, विस्तृत अनुसन्धान भइरहेको छ ।’

प्रहरीले दुवैजनाको मोबाइललाई पनि फरेन्सिक जाँचका लागि पठाउने तयारी गरेको छ । दुवैको अभिभावक काठमाडौं आएपछि पोष्टमार्टम हुनेछ ।