आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

६८ जिल्लामा एमालेको अधिवेशन आज

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०७:४८ मा प्रकाशित (२ साल अघि) ३०१ पाठक संख्या

२३ पुस, काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज ६८ वटा जिल्लामा अधिवेशन गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन गर्ने छन् । विभिन्न कारणले स्थगित गरिएका ९ जिल्लाका अधिवेशन भने पछि गरिने नेकपा एमालेले जनाएको छ ।

काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।

यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।