आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन मन्त्री श्रेष्ठको आग्रह

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १८:०५ मा प्रकाशित (२ साल अघि) १६३ पाठक संख्या

२२ पुष, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन् । उनले आज संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसदलाई काठमाडौंमा सम्बोधन गर्दै सो बताएका हुन् ।

मन्त्री श्रेष्ठले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेट्ने योजना अघि बढाएको बताए । अहिले श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठले बताए ।

उनले सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारीलाई हटाउने गरी अघि बढेको दाबी उनले गरे । श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने कुरामा पनि प्रभावकारी रूपमा काम अघि बढाएको भन्दै उनले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमी हुन नदिने बताए ।