आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ : नेपाल-भारत सम्बन्ध सुधार गर्ने अवसर

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०९:५० मा प्रकाशित (२ साल अघि) ३४७ पाठक संख्या

२२ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा मोदीसँग सम्बन्ध बलियो बनाउन खोजेको देखिएको छ । हुन त भारत पनि सम्वन्ध बलियो बनाउन चाहन्छ । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा भाग लिन (२५ पुस) आइतबार भारत जाने भएका छन् । बुधबार मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री देउवा २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली जानेछन् । देउवाको चारदिने भ्रमण राजकीय त होइन, तर गुजरातमा हुने भेट र वार्ताहरु त्योभन्दा कम नहुने भारतीय पक्षको आश्वासन छ ।

केही मन्त्री र उद्योगी व्यवसायीहरु रहेको नेपाली टोली पनि पुस २५ गते अहमदावाद जानेछ । त्यहाँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुनुका साथै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता समेत गर्ने छन् ।

नेताहरुका अनुसार २९ असारमा प्रधानमन्त्री बन्नु अघिसम्म देउवा मात्र होइन, उनले नेतृत्व गरेको दल नेपाली कांग्रेसप्रति भारतको दृष्टिकोण फरक थियो । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनपछि देउवा विघटन विरुद्धको आन्दोलनका पक्षमा नउभिनुमा भारत पनि एउटा कारण थियो ।

भारतले कुनै हालतमा संसद पुनर्स्थापना हुन दिंदैन भन्ने उनको बुझाइ रहेको उनी निकट कांग्रेसका नेताहरु अनौपचारिक कुराकानीहरुमा बताउँथे । ११ फागुन २०७७ मा संसद पुनर्स्थापनाको पक्षमा फैसला त भयो, तर देउवाले सरकारको नेतृत्वका लागि रुचि देखाएनन् । उनमा सरकारको नेतृत्व गर्ने चाहना त थियो, तर भारत आफूप्रति सकारात्मक छैन भन्ने उनले राम्रोसँग बुझेका थिए ।

देउवा निकट नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिएपछि भने भारतको दृष्टिकोण बदलियो । भारतले देउवासँग र देउवाले भारतसँग सम्बन्ध सुधार्न चाहेकोले यस पटकको गुजरात भ्रमण दुबै पक्षका लागि सम्बन्ध सुधार गर्ने अवसर भएको छ ।

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउने प्रयासलाई बल मिल्ने संकेत मिलेको छ । भारतीय पक्षले देउवाको चारदिने भ्रमण राजकीय नभए पनि गुजरातमा हुने भेट र वार्ताहरु त्योभन्दा कम नहुने भारतीय पक्षको आश्वासनले यो अवसरको सदुपयोग गर्न दुबै देश तयार रहेको देखिएको छ ।