आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

चुनावी गठबन्धनबारे काँग्रेसभित्र दुई धार

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०८:३७ मा प्रकाशित (२ साल अघि) ५२९ पाठक संख्या

२२ पुष, काठमाडौं । सत्ताधारी दल नेपाली काँग्रेसभित्र चुनावमा गठबन्धन बनाएर लड्ने कि एक्लै लड्ने भन्नेमा दुई धार देखिएको छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन र लगत्तै प्रदेश तथा संघीय निर्वाचन हुन लागेको सन्दर्भमा काँग्रेस पार्टीका नेताहरुमा बहस हुन थालेको हो ।

नेपाली कांग्रेसको संस्थापन पक्ष वर्तमान सत्ता गठबन्धनलाई चुनावसँगै लिएर जाने पक्षमा देखिएको छ भनें शेखर कोइराला पक्षले पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्नुपर्ने तर्क गर्दै आएको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले समेत सत्ता गठबन्धनलाई चुनावसम्म लैजाने अभिव्यक्ति दिँदै आएका छन् । उनले सत्ता गठबन्धन नटुट्ने धारणा समेत राख्दै आएका छन् । यतिमात्रै नभइ देउवाले महाधिवेशनअघि आफू सभापतिमा निर्वाचित नभए सत्ता गठबन्धन नै नरहन सक्ने धारणा समेत राखेका थिए ।

बुधबार आफू निकटको भेलामा नेता कोइरालाले देउवाको आलोचना गर्दै उनले पार्टीमा मनपरी गरेको आरोप लगाएका थिए । लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् ।