आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्रीद्वारा धरानको फोहोरमैला प्रशोधन केन्द्र उद्घाटन

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार १६:२२ मा प्रकाशित (२ साल अघि) ३६८ पाठक संख्या

२० पुष, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । मंगलबार हेलिकोप्टरमार्फत धरान पुग्नुभएका प्रधानमन्त्री देउवाले धरान उपमहानगरपालिका–६ पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको हो । फोहोरमैला प्रशोधन गरेर उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गर्नुभएको छ ।

गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि मंगलबार सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिनुभयो ।

२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन ।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

सभापति देउवाले धरानमा रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्नुभएको छ ।