आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

तनहुँ जलविद्युत आयोजना : एक अर्ब ३० करोड मुआब्जा वितरण

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार १५:५५ मा प्रकाशित (२ साल अघि) ३१२ पाठक संख्या

२० पुष, दमौली । तनहुँको निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुने कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युतगृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि आयोजनाले ४० करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।

बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु आठ करोड मुआब्जा वितरण भएको छ । जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु ८२ करोड मुआब्जा वितरण गरिएको छ । बाँधस्थलको पहुँचमार्गमा ९० र जलाशय क्षेत्रमा ९७ प्रतिशत मुआब्जा वितरण भइसकेको आयोजनाले बताएको छ ।

आयोजनाले रु ३८ करोडमा क्याम्प, रु १२ करोडमा विद्युत् सवस्टेशन, रु आठ करोडमा पहुँचमार्ग र रु दश करोडमा सेती नदीमा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज १ अन्तर्गतको कामका लागि गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।