आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

भारतमा १ हप्तामा झण्डै ५ गुणाले बढे कोरोना संक्रमित

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार ०९:१८ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

२० पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । यसबाट पाठ सिकेर नेपाल सरकार सचेत हुन जरुरी छ । पहिले पनि भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण दर बढेको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको मृत्यु भएको भने १० हजार ८४६ जना संक्रमण मुक्त भएका छन् ।

यसैबीच, भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, केरलामा १५६, गुजरातमा १३५, तमिलनाडुमा १२१ र राजस्थानमा १२० जनामा ओमिक्रोन देखा परिसकेको छ । कर्नाटकमा सोमबार थप १० जनामा ओमिक्रोन देखिएसँगै कुल संक्रमितको संख्या ७६ पुगेको छ ।

ओमिक्रोन फैलिएका अन्य भारतीय राज्यमा हरियाणा (६३), ओडिसा (३७), पश्चिम बंगाल (२०), आन्ध्र प्रदेश (१७), मध्य प्रदेश (९), उत्तर प्रदेश (८), उत्तराखण्ड (८), चन्डीगढ (३), जम्मू–कश्मीर (३) र अन्डामान एण्ड निकोबार टापू (२) रहेका छन् । हालसम्म गोवा, हिमाचल प्रदेश, लद्दाख, मनिपुर र पञ्जाबमा १–१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको द मिन्टले जनाएको छ ।