आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

महिला भलिबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने निर्णय

गोकर्णेश्वर खबर१५ पुष २०७८, बिहीबार ०७:५८ मा प्रकाशित (२ साल अघि) ३९८ पाठक संख्या

१५ पुष, काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । ‘महिला भलिबल खेलाडीले लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाएकोले सरकारले नगद पुरस्कारबाट सम्मान गर्न लागेको हो,’ मन्त्री गहतराजले भन्नुभयो ।

नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपाली महिला टोलीले यसअघि सन् २०१९ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा लिग चरणदेखि एक सेट पनि नगुमाई उपाधि जितेको थियो । नेपाली टोली बिहीबार स्वदेश फर्कने नेपाल भलिबल संघले जनाएको छ ।