आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

घोराही कारागारका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

गोकर्णेश्वर खबर९ पुष २०७८, शुक्रबार ०९:१३ मा प्रकाशित (२ साल अघि) ३६७ पाठक संख्या

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।

घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए ।