आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

छ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँने अध्यक्ष लिङ्देनको दाबी

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार २०:२२ मा प्रकाशित (२ साल अघि) २३६ पाठक संख्या

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन्।

शनिबार झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रूपमा स्थापित गरेर देखाउने दाबी गरे।

कुर्सीमा बस्ने लोभ र महत्वाकांक्षाले नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको बताउँदै उनले राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने बताए।

राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनले पहिलोपटक गृह जिल्लामा आएर कार्यकर्तालाई सम्बोधन गरेका हुन्।

उनले विगतमा कांग्रेस र कम्युनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने बताए।

‘म सानो चित्तले राजनीतिमा आएको होइन। कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम अरू नै छ। पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु।’

कार्यक्रममा उनीलगायत केन्द्रीय कार्य समिति सदस्य र प्रदेश अध्यक्षसहित प्रदेश कार्य समितिमा निर्वाचित झापाका नेतालाई सम्मान गरिएको थियो।