आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भोट नहाल्न भन्दै पर्चा बाँडेकोमा भीम रावलको आपत्ति

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार ०८:४७ मा प्रकाशित (२ साल अघि) ९७ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको पर्चाको अध्यक्षका अर्का प्रत्यासी भीम रावलले आपत्ति जनाएका छन् ।

मतदानका क्रममा ओली पक्षले आफ्नो सूचीमा नपरेकाहरुलाई भोट नहाल्न महाधिवेशन प्रतिनिधिहरुलाई पर्चा बनाएर बाँडे पछि रावलले आपत्तिजनक र निर्वाचन आचारसंहिताविपरीत भएको बताएका छन् ।

त्यस्तै रावलले एक ट्वीट गर्दै ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु’ भन्दै आग्रह गरेका छन् ।

त्यस्तै रावलले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा समेत राखेर मतदान गराइएकोप्रति पनि विरोध जनाएका छन् । आफूले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएकोे बताउँदै उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिएकाले स्वीकार नगर्ने प्रस्ट पारेका छन् ।

दलित सदस्यमा नरबहादुर विक, थारु खुला सदस्य र पिछडिएको क्षेत्रका उम्मेदवार भरत साउदलाई पनि मत नदिन ओली पक्षले पर्चामा लेखेर बाँडेको छ ।

ओली पक्षले अध्यक्षमा ओलीका प्रतिस्पर्धी रावल, उपाध्यक्षका प्रत्यासी घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की, प्रदेश १ का खुला सदस्य उम्मेदवार भाष्कर काफ्ले, प्रदेश १ कै महिला सदस्यकी उम्मेदवार मीरा खान, सुदूर पश्चिम महिला पदकी उम्मेदवार पशुपति कुँवर र मञ्जु मरासीलाई मत नदिन भन्दै बाँडेको पर्चा पनि भेटिएको छ ।