आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

एमाले १०औं राष्ट्रिय महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड, २८ कोटामा २०६ जनाको उम्मेदवारी

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:४९ मा प्रकाशित (२ साल अघि) २४५ पाठक संख्या

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ ।

२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ । एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।

शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौं,’ उनले भनिन् ।

आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन् । दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन् । बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ । निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन् ।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन् ।