आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने, ३३ प्रतिशत महिला सुनिश्चित

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार २१:०२ मा प्रकाशित (२ साल अघि) १२३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

त्यस्तै प्रवक्ता ज्ञवालीका अनुसार प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुनेछ । ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिए । स्थायी कमिटीको निर्णयलाई भोलिको केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने छ ।

स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५र५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए । पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।