आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

विद्युतको नयाँ महसुल दर सार्वजनिक

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार १०:०७ मा प्रकाशित (२ साल अघि) २७४ पाठक संख्या

काठमाडौं । विद्युत् नियमन आयोगले बुधबार पत्रकार सम्मेलनमार्फत विद्युतको नयाँ महसुल दर सार्वजनिक गरेको छ । आयोगलेसार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत सस्तो बनेको छ भन सिँचाइ तर्फ औसतमा ४०.६९ प्रतिशतले महसुल घटाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ ।

मङ्सिर १ देखिको खपतमा लागू हुनेगरी तय गरिएको नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपियाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने भएका छन् ।

ठूलो जनसङ्ख्या कृषिमा आश्रित रहेको तर कृषि उत्पादकत्व कम रहेको अवस्थालाई ध्यानमा राखेर अहिलेको महसुल परिवर्तनमा सिँचाइ क्षेत्रमा औसत ४०.६९ प्रतिशत महसुल घटाइएको छ । टीओडी मिटर जडान गरेका ३३ केभी लाइनका सिँचाइ उपभोक्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्मको खपतमा प्रतियुनिट दुई रुपियाँ मात्र तिरे पुग्ने भएको छ । अन्य समयमा पनि एक रुपियाँ ७० पैसा घटाएर प्रतियुनिट तीन रुपियाँ मात्र कायम गरिएको छ । ११ केभीएमा यो शुल्क भने तीन रुपियाँ १० पैसा छ।

इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकका लागि प्रस्ताव गरेको नयाँ महसुललाई आयोगले अस्वीकृत गरेको छ । प्राधिकरणले यस्ता ग्राहकको प्रत्येक स्लटको डिमान्ड शुल्क १०० रुपियाँ बढाउने प्रस्ताव गरेको थियो । प्राधिकरणको प्रस्तावबारे विद्युत् नियमन आयोगले गरेको सार्वजनिक सुनुवाइका क्रममा पनि उद्यमी–व्यवसायीले यसको चर्को विरोध गरेका थिए ।