आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेसद्वारा कुशवाहामाथि दुर्व्यवहार गर्ने उपर कारवाहीको स्वागत

गोकर्णेश्वर खबर६ कार्तिक २०७८, शनिबार २०:४१ मा प्रकाशित (२ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताएका छन् ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उनले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । कांग्रेसले सहकर्मीउपर गम्भीर दुर्व्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ ।

शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ । हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।