आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकालाई १० बुँदे निर्देशन

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:०७ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्रीका लागि १० बुँदे निर्देशन दिएको छ ।

गत बिहीबार अन्तरपार्टी निर्देशिका जारी गर्दै पार्टीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालले १० बुँदे निर्देशन दिनुभएको हो ।
‘निष्ठाका साथ जनभावना अनुरुप काम गर्नु’ १० बुँदे निर्देशनमा उल्लेख छ ।

यस्तै इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्न, राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न, निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त्त रहन मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।

योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन, विवादमा पर्ने कुनै पनि काम नगर्न, स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न निर्देशनमा भनिएको छ ।

त्यसैगरी, पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न, सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन, नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न र पाँच दलीय गठबन्धनको भावनाअनुरुप अन्य दलहरुसँग सहकार्य गर्न निर्देशन दिइएको छ ।

एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले मगर र किसान श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री रहनुभएको छ । यस्तै भानुभक्त जैसी राज्यमन्त्री हुनुहुन्छ ।