आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाउने चार जना पक्राउ

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १८:४१ मा प्रकाशित (२ साल अघि) १६१ पाठक संख्या

जनकपुरधाम – बोक्सीको आरोप लगाउँदै महोत्तरीमा महिलालाई मलमूत्र खुवाएको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगाका रगेश्वर महतोकी श्रीमती ६५ वर्षीया प्रमिलादेवी महतो, छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी रञ्जन मिश्रले जानकारी दिए।

असोज २७ गते बिहान ३ बजे सुगा गाउँस्थित सडकमा शम्भु महतोको श्रीमती ४२ वर्षीया सुकमरिया देवी घुमफिर गरिरहेको अवस्थामा सिकिन्दरका परिवारजनले बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाएका थिए भने कपालसमेत काटेका थिए।

सूचना अधिकारी मिश्रले अनुसन्धानका क्रममा सुकमरिया देवी घुमफिर गरिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा उनलाई देखेपछि सिकिन्दरका १३ वर्षीया छोरी काजलकुमारी रून लागेका थिए। सोही विषयलाई लिएर बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाएको तथा कपाल काटेको मिश्रले जानकारी दिए।