आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेको पनौतीमै मुक्तिनाथको दर्शन

गोकर्णेश्वर खबर३० आश्विन २०७८, शनिबार १२:०६ मा प्रकाशित (२ साल अघि) १२१ पाठक संख्या

काभ्रे, असोज ३० गते । मुक्तिनाथ मन्दिर टाढा भएर दर्शन गर्न जान मन भएर पनि जान पाउनुभएको छैन भने अब चिन्ता नगर्नुहोस् काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा न ५ बाँसघारीमा स्थानीयहरुको सक्रियतामा मुक्तिनाथ मन्दिर स्थापना गरिएको छ । मुक्तिनाथ मन्दिर कै स्वरुपमा निर्माण गरिएको उक्त मन्दिर दशैं अघिबाट सर्वसाधारण लागि खुल्ला गरिएको छ ।
मुक्तिनाथ मन्दिर निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले धार्मिक महत्व बोकेको पनौती नगरमा मुक्तिनाथ मन्दिरको अभाव देखेपछि स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य कै निर्देशनबाट काम भएको र मुक्तिनाथ कै पुजारीले पूजाअर्चना गर्ने भएकाले ढुक्कसँग पनौतीको मुक्तिनाथ मन्दिरमा आउन भक्तजनलाई अपिल गर्नुभयो ।
मन्दिर सहितको संरचना निर्माणका लागि एक करोड ५९ लाख रुपियाँ खर्च लागेको छ । भागवत सप्ताहबाट ५१ लाख, विभिन्न व्यापारी, भक्तजन तथा स्थानीयबाट ६६ लाख, बागमती प्रदेश सरकारबाट २५ लाख र पनौती नगरपालिकाबाट २५ लाख रुपियाँ सहित मुक्तिनाथ मन्दिर निर्माणका लागि एक करोड ६७ लाख रुपियाँ सहयोग उठेको थियो ।
मुक्तिनाथ मन्दिर निर्माण समितिका सदस्य राजेन्द्र थापाले मन्दिरको संरक्षण र दिगोपनका लागि अक्षयकोष स्थापना गर्ने लागिएको बताउनुभयो । उहाँका अनुसार करिब ३० लाख रुपियाँको अक्षयकोष निर्माण गरेर त्यसको व्याजबाट आउने रकमले पुजारीको व्यवस्थापन र नियमित सरसफाइमा खर्च गर्ने लक्ष्य रहेको छ । अक्षयकोषमा मन्दिर निर्माणका लागि उठेको रकमबाट आठ लाख रुपियाँ बाँकी रहेको जानकारी दिनुभयो ।
मुक्तिनाथ मन्दिर निर्माण समितिका सदस्य कुमार थापाले मुक्तिनाथ मन्दिर सहितको संरचना बनेको बताउनुभयो । उहाँले मन्दिरभित्र मुक्तिनाथ भगवान, श्रीदेवी र भुदेवी रहेको बताउनुभयो । त्यस्तै अगाडि साइडमा मुक्तिनाथको बाहन गरुढ र ढोकाको दायाँ बायाँ गरुढ भगवानका बाहन जय र विजय रहेका छन । मन्दिर परिसरमा गणेश, राधाकृष्ण, सरस्वति र शिव जीको मुर्ति रहेको छ । मन्दिर परिसरमा नुहाउनका लागि १०८ धारा, स्थान गर्नका लागि कपडा चेन्ज गर्ने महिला र पुरुष रुम बनाइएको छ । भने पुजारी बस्ने घर निर्माण गरिएको छ । आचार्य पास गरेका बाह्मण पुजारी राखिएको छ । मुक्तिनाथ मन्दिर कै जस्तो दैनिक पुजा अर्चना हुने जनाइएको छ । मुक्तिनाथ मन्दिरबाट शालिक ल्याएर शिलान्यास गरिएको थियो ।
फोटो क्याप्सनः काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा न ५ बाँसघारीमा निर्माण भएको मुक्तिनाथ मन्दिर ।

-गोरखा पत्र

-तस्विरः मधुसुधन तिमल्सिना ।