आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बागमती प्रदेश सरकारले बढायो २३ प्रतिशतले गाडी भाडा,काठमाडौं उपत्यकाको न्यूनतम भाडा १८ रुपैयाँ कायम

गोकर्णेश्वर खबर२१ आश्विन २०७८, बिहीबार ०९:५६ मा प्रकाशित (२ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।
यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भाडा बढाएर लागू गर्ने चेतावनी दिएका छन् ।

कति बढ्यो ?

सार्वजनिक गाडीको भाडा बढाउन माग गर्दै यसअघि यातायात व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले दशैंको मुखैमा गाडी नचलाइदिंदा यात्रुहरु मर्कामा परेका थिए ।

त्यसलगत्तै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशतले भाडा वृद्धिको निर्णय गरेको हो । डिलक्स सुविधा भएका गाडीले भने यसमा पनि थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।

यात्रुहरुले १५ किलोसम्मको सामानको भाडा तिर्नु पर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँको दरले थप भाडा तिर्नु पर्ने निर्णय मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यकाको भाडा १८ देखि ३५ रुपैयाँ कायम

काठमाडौं उपत्यकाभित्र सन्चालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ ।

१८ रुपैयाँ भाडा ५ किलोमिटरसम्मको दुरीका लागि हो । पाँच किलोमिटर भन्दा कम दुरीको यात्रा गरे पनि १८ रुपैयाँ नै तिर्नुपर्ने छ ।

१० किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढी दुरीको लागि ३५ रुपैयाँ भाडा तिर्नु पर्ने छ ।

भाडा वृद्धि कम भएको भन्दै यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गरी अहिलेको भाडा दर पुनरवलोकन नभए आफैं भाडा बढाउने चेतावनी दिएका छन् ।

उनका अनुसार २०७८ साल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात व्यवस्था विभागबीच गत वैशाखमा २८ प्रतिशत भाडा समायोजन गर्ने सहमति भएको थियो । त्यतिबेला डिजलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर र पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर थियो । अहिले डिजलको मूल्य ११३ रुपैयाँ र पेट्रोलको मूल्य १२९ रुपैयाँ प्रतिलिटर पुगिसके पनि २३ प्रतिशतले भाडा समायोजन गरिनु अवैज्ञानिक र अव्यवहारिक भएको महासचिव सिटौलाको भनाइ छ ।

अहिलेको भाडा दर पुनरावलोकन नभए महासंघले आफैले सात वटै प्रदेशमा भाडा समायोजन गरी लागु गर्ने चेतावनी उनले दिएका छन् ।