आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

यस पटक गणेशमानको छोरो पार्टीको नेतृत्वमा आएको देख्न कार्यकर्ताले चाहेका छन् : नेता सिंह

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १५:०४ मा प्रकाशित (२ साल अघि) १३६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा आफूलाई सहयोग गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालाई आग्रह गरेका छन् ।

बुधबार कांग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सभापतिमा लड्ने आफूले निर्णय गरिसकेकाले सहयोग गर्न पौडेल र कोइरालालाई आग्रह गरेका हुन् ।

१३औँ महाधिवेशनमा मैले सभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा शशांक कोइरालालाई सहयोग गरेकै हो । अब यसपटक तपाईंहरूले मलाई सहयोग गर्नुस् । मेरो प्रस्तावक र समर्थक बसिदिनुस्, उनले भने । सिंहले यस पटक काठमाडौंभित्रकै व्यक्तिलाई पार्टीको नेतृत्व गर्न दिनुपर्ने बताए ।

पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति हुनुभयो । यसपालि अब काठमाडौंकै मान्छेको पालो हो, उनले भने । नेता सिंहले यस पटक गणेशमानको छोरो पार्टीको नेतृत्वमा आएको देख्न कार्यकर्ताले चाहेको बताए ।

सिंहले आफूहरूले सधैँ अरूको झोलामात्रै बोकेर हिँड्न नसक्ने बताए । ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’