आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

प्रदेश नं २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १०:३० मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।

गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए ।

आजदेखि नै प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।

गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ ।

यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताए ।

लोसपा र नेकपा (एमाले) प्रदेश सरकारको विपक्ष रहेका छन् । लोसपाका १६ र एमालेका ८ सांसद छन् ।