आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नयाँ बसपार्कबाट १७ हजारले लिए दसैँका लागि अग्रिम बस टिकट

गोकर्णेश्वर खबर१९ आश्विन २०७८, मंगलवार १३:१२ मा प्रकाशित (२ साल अघि) १०५ पाठक संख्या

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् ।

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमि आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए ।

कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्, उनले भने ।

कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्या न्यून रहेको बताए ।

निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ, उनले भने ।

सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।