आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

देशभरि नै चाडपर्व लक्षित अनुगमन जारी : गृह मन्त्रालय

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार २०:४१ मा प्रकाशित (२ साल अघि) ४८८ पाठक संख्या

काठमाडौं । गृह मन्त्रालयले ठूला चाडपर्व लक्षित सुरक्षा, खाद्य पदार्थको आपूर्ति तथा बजार व्यवस्थापन र यातायात व्यवस्थापनका सम्बन्धमा देशभरि नै अनुगमन भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै चाडपर्व नजिकिँदै गएकाले सुरक्षा, आपूर्ति तथा बजार व्यवस्थापन, यातायात व्यवस्थापनलगायतका सेवाहरू सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, सुरक्षा निकायहरू तथा संघ, प्रदेश र स्थानीय तहका अन्य नियमनकारी निकायबाट अनुगमन भइरहेको जनाएका हुन् ।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन भई सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले संयुक्त बजार अनुगमन गरिरहेको छ ।

‘चाडपर्वको समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतको सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातवटै प्रदेशमा अनुगमन गरी उल्लिखित विषयमा तत्काल देखिएका समस्याहरू समाधानका लागि सहजीकरण गर्न, अन्तरनिकाय समन्वय गर्न गराउन र नीतिगत पृष्ठपोषणसमेत उपलब्ध गराउन सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोलीसमेत गठन गरेको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सबै उद्योगी, व्यवसायी तथा सेवा प्रदायकहरूलाई वस्तु तथा सेवाको उत्पादन, आपूर्ति र बिक्री–वितरणमा जिम्मेवार र जवाफदेही भई संविधानतः प्रत्याभूत उपभोक्ताको हक सुनिश्चित गर्नसमेत अनुरोध गरेको छ ।