आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडाैंमा २०७ जना पाकेटमार पक्राउ

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार १८:१० मा प्रकाशित (२ साल अघि) १६५ पाठक संख्या

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पाकेटमारी गर्ने २०७ जना पक्राउ परेका छन् । सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

परिसरका प्रमुख एसएसपी अशोक सिहंका अनुसार पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको छ ।

प्रहरीका अनुसार उनीहरले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेका थिए । एसएसपी सिंहले पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको बताए ।