आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एनआरएनए यूकेको निवर्तमान पुनम गुरुङ समितिले अझै बुझाएन हिसाब किताब

गोकर्णेश्वर खबर१५ आश्विन २०७८, शुक्रबार २०:४३ मा प्रकाशित (२ साल अघि) ६०० पाठक संख्या

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले निवर्तमान समितिबाट अझै पनि बर बुझारथ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

अगष्ट पहिलो साता सम्पन्न निर्वाचनबाट प्रेम गाहा मगर नेतृत्वको नयाँ कार्य समिति निर्वाचित भई कार्यभार सम्हाले पनि पूनम गुरुङ नेतृत्वको निवर्तमान कार्य समितिले पाँच थान निर्णय पुस्तिका (माइन्यूट) बाहेक अन्य कुनै पनि कागजात र आर्थिक हिसाब किताब बुझाएको छैन।

नवनिर्वाचित कार्य समितिले पटक पटक आग्रह गर्दासमेत निवर्तमान समितिले संस्थाको चल तथा अचल सम्पत्ति केही पनि हस्तान्तरण नगरेको २९ सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘गैर आवासीय नेपाली संघ युकेको साधारण सभाबाट नया कार्य कारिणी समिती निर्वाचित भएको लगभग २ महिना हुनै लाग्दा समेत तत्कालिन कार्य समितीबाट दायित्व, जिम्मेवारी तथा संस्थाको आर्थिक तथा भौतिक सम्पत्ति हस्तान्तरण नभएको प्रति हामी गम्भीर भएका छौं,’ पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँ कार्य समितिले पदभार सम्हालेको दुई महिना बित्नै लाग्दा संघका निवर्तमान महासचिव फडिन्द्र भट्टराईले आफ्नो जिम्मामा भएका ५ थान निर्णय पुस्तिका, इमेल तथा फेसबुक पेजमा पहुंच दिने पासवर्डहरु एनआरएनए युकेको नयां कार्यालयमा आई हस्तान्तरण गरेको , तर संस्थाका अन्य भौतिक सम्पत्तिहरु, पुराना विल भरपाई लगायतका कागजातहरु तथा बैक खाताहरु भने अहिलेसम्म हस्तान्तरण हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

नयाँ कार्य समितिले दिएको जानकारी अनुसार गैर आवासीय नेपाली संघका नाममा कम्तीमा सात ओटा बैक एकाउन्ट विभिन्न ब्यक्तिहरुका नाममा सन्चालनमा रहेका छन् । तर ती बैंक खाता कस्ले संचालन गरिरहेको छ र किन हस्तान्तरण हुंदैन भन्ने बारेमा निवर्तमान कार्य समितिको नेतृत्वले स्पष्ट पार्न नसकेको पनि नवनिर्वाचित कार्य समितिले जनाएको छ ।

एनसीसीको दशौं महाधिवेशन अन्तर्गत गत जुलाई २५ मा आयोजित साधारणसभामा निवर्तमान कोषाध्यक्षले पेश गरेको प्रतिवेदन अनुसार संघको एचएसविसी पिएलसि बैक एकाउण्टमा १ लाख ५५ हजार ३५१ पाउण्ड र नेपाल हाउस एकाउन्टमा ४३ हजार २२३ पाउण्डसमेत गरी जम्मा १ लाख ९८ हजार ५ सय ७४ पाउण्ड तथा अन्य एकाउण्टमा भएको समेत गरी करिव २ लाख पाउण्ड भन्दा बढी नगद मौज्दात रहेको छ । तर, उक्त हिसाव अहिलेसम्म नयां कार्यसमितिलाई नबुझाइएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

त्यस्तै, गैर आवासीय नेपाली संघ युकेको नाममा भएको भौतिक सम्पत्ति सम्बन्धी कागजपत्रहरु र गएको २०१९ मा भएको निर्वाचन ताका खर्च गरेको भनिएको ठूलो रकमको खर्च विवरण तथा बिल भरपाई लगायत तत्पश्चातका आर्थिक गतिविधि सम्बन्धी कुनै पनि कागजातहरु हाल सम्म हस्तान्तरण नभएको गाहा मगरले जानकारी दिए ।

 

पटक पटक आग्रह

गत अगष्ट पहिलो साता सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिले पदभार ग्रहण गरेपछि अगष्ट १६ मा भौतिक उपस्थितिमा पहिलो बैठक बसेको थियो । सोही बैठकले गरेको निर्णय अनुसार निवर्तमान कार्य समितिलाई अगष्ट २० मा बरबुझारथका लागि पत्र लेखिएको थियो ।

त्यसपछि पनि पटक पटक निवर्तमान अध्यक्ष पूनम गुरुङलाई इमेलमार्फत स्मरण गराइएको अध्यक्ष गाहा मगरले जानकारी दिए ।

हामीले पटक पटक आग्रह गरेका छौं, गाहा मगरले भने, तर पनि अहिलेसम्म बुझाइएको छैन ।

नयाँ कार्य समितिले पदभार ग्रहण गरेको ४८ घण्टा भित्र जिम्मेवारी तथा दायित्व हस्तान्तरण गरिसक्नुपर्ने उनले बताए ।

 

कानुनी बाटोमा जान सक्ने संकेत

पत्रकार सम्मेलनमा अध्यक्ष गाहा मगरले हार्दिकतापूर्वक गरिएको आग्रहलाई स्वीकार नगरिए अन्य विकल्पमा पनि जान सकिने बताए । कानुनी रुपमा अगाडि बढ्ने विषयमा उनले खुलेर नबताए पनि अझै पनि सुनुवाइ नभए ‘अन्य विकल्पमा जान सकिने’ बताए ।

सोही पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायण कँडेलले प्रक्रिया दोश्रो चरणमा प्रवेश गरेको बताए । ‘हामीले पहिलो चरणको प्रक्रिया पार गरिसकेका छौं’ उनले भने ‘आम सरोकारवालालाई जानकारी गराउन हामीले पत्रकार सम्मेलन गरेका हौं, यो दोश्रो चरण हो,’ उनले भने ।

अब के गर्ने भन्ने विषयमा कार्य समितिले ठोस निर्णय लिने पनि उनले जानकारी दिए । उनले विगतमा नेतृत्व लिने अनुहार एउटा र सञ्चालन गर्ने अनुहार अर्कै भएकाले हस्तान्तरण प्रक्रिया जटिल भएको हुनसक्ने कँडेलले आशंका व्यक्त गरे । संस्थाको सम्पत्ति कार्य समितिको मातहतमा ल्याउन कार्य समितिले कठोर निर्णय लिन सक्ने कँडेलले चेतावनी दिए ।

 

पत्रकार सम्मेलनमा अध्यक्ष गाहा मगरले निवर्तमान कार्य समितिले आर्थिक हिसाब किताब हस्तान्तरण नगरेकै कारण आइसीसीलाई पन्जीकृत सदस्यता वापतको लेवी पनि बुझाउन नसकिएको जानकारी दिएका थिए ।

 

महासचिव खुसी लिम्बुले सन्चालन गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भरतमणि चोङवाङले प्रेस वक्तव्य पढेर सुनाएका थिए ।

 

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ति जस्ताको तस्तै

 

 

गैर आवासीय नेपाली संघ युकेको साधारण सभाबाट नया कार्य कारिणी समिती निर्वाचित भएको लगभग २ महिना हुनै लाग्दा समेत तत्कालिन कार्य समितीबाट दायित्व, जिम्मेवारी तथा संस्थाको आर्थिक तथा भौतिक सम्पत्ति हस्तान्तरण नभएको प्रति हामी गम्भीर भएका छौं ।

 

गैर आवासीय नेपाली संघ युके यहांको नेपाली समाज र नेपाली दाजुभाइ दिदी बहिनीहरु सहित गैर आवासीय नेपाली संघका सदस्यहरु र शुभ चिन्तकहरु प्रति उत्तरदायी भएकोले संस्थाको आर्थिक संचिती तथा दायित्व हस्तान्तरणमा भएको आनाकानी तथा यसले संस्थालाई परेको नोक्सान बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले यो पत्रकार सम्मेलन आयोजना गरिएको कुरा जानकारी गराउन चाहान्छौ ।

गैर आवासीय नेपाली संघका निवर्तमान महासचिव फडिन्द्र भट्टराईले आफ्नो जिम्मामा भएका ५ थान निर्णय पुस्तिका, इमेल तथा फेसबुक पेजमा पहुंच दिने पासवर्डहरु एनआरएनए युकेको नयां कार्यालयमा आई हस्तान्तरण गर्नुभएको छ भने संस्थाका अन्य भौतिक सम्पत्तिहरु, पुराना विल भरपाई लगायतका कागजातहरु तथा बैक खाताहरु भने अहिले सम्म हस्तान्तरण हुन सकेका छैनन् ।

गैर आवासीय नेपाली संघ युकेका विभिन्न प्रतिवेदनहरु, बैठकका निर्णयहरु बेलाबेलामा बाहिरिएका विवरण अनुसार गैर आवासीय नेपाली संघका नाममा कम्तिमा सात ओटा बैक एकाउन्टहरु विभिन्न ब्यक्तिहरुका नाममा सन्चालनमा रहेका छन् । तर ती कस्ले संचालन गरिरहेको छ र किन हस्तान्तरण हुंदैन भन्ने बारेमा निवर्तमान कार्य समितिको नेतृत्वले स्पष्ट पार्न सकेको छैन ।

पछिल्लो पटक कोषाध्यक्षले २५ जुलाई २०२१ मा प्रस्तुत गरेको प्रतिवेदनका आधारमा संघको एचएसविसी पिएलसि बैक एकाउण्टमा १ लाख ५५ हजार ३५१ पाउण्ड भन्दा बढी रकम एनआरएनए युकेको कोष रहेको छ । नेपाल हाउस एकाउन्टमा भएको ४३ हजार २२३ पाउण्ड समेत गरी जम्मा १ लाख ९८ हजार ५ सय ७४ पाउण्ड तथा अन्य एकाउण्टमा भएको समेत गरी करिव २ लाख भन्दा बढि नगद मौज्दात रहेको बुझिएको छ । यी सबै हिसाव किताव र नगद मौज्दात नयां कार्यसमितीलाई बुझाइएको छैन ।

आवासीय नेपाली संघ युकेको नाममा भएको भौतिक सम्पत्ति सम्बन्धी कागजपत्रहरु र गएको २०१९ मा भएको निर्वाचन ताका खर्च गरेको भनिएको ठूलो रकमको खर्च विवरण तथा विल भरपाईहरु लगायत तत्पश्चातका आर्थिक गतिविधीहरु सम्बन्धी कुनै पनि कागजातहरु हाल सम्म हस्तान्तरण भएको छैन ।

अतः एनआरएनए युकेका पन्जिकृत सदस्यहरुबाट उठाइएका नगद तथा अन्य तरिकाले जम्मा पारिएका नगद अनधिकृत तरिकाले नराख्न एवं संस्थाका नाममा खोलिएका सबै बैक खाताहरु तुरुन्त संस्थालाई हस्तान्तरण गर्न हामी पूर्व कार्य समितिको नेतृत्वलाई अनुरोध गर्दछौ ।

(नेपालसंसार)