आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

जण्डिसको उपचारको लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार ०९:३० मा प्रकाशित (२ साल अघि) १६४ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । आज (बुधबार) बिहान पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

लामो समयदेखि कमलपित्त (जण्डिस) रोगबाट पीडित उनलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो । पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।

कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि थाइल्याण्ड लगिएको बताए ।

चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ ।