आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वरमा रेबिज बिरुद्धको खोप सेवा उपलब्ध

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार २०:२९ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

१२ आश्विन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेका स्वास्थ्य चौकीबाट रेविज रोगबिरुद्धको खोप दिने कार्यको शुभारम्भ भएको छ । कुकुर तथा जंगली पशुको टोकाइबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप नगरपालिकाका स्वास्थ्य चौकी र प्राथमिक अस्पतालबाट दिने व्यवस्था गरिएको हो ।

रेबिजविरुद्धको खोप आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी टेकु अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरुले गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई रेविज बिरुद्धको खोप (भ्याक्सिन) हस्तान्तरण गरि शुभारम्भ भएको छ ।

कार्यक्रममा नगरप्रमुख चालिसेले रेबिजबिरुद्धको खोप निःशुल्क लगाउन टोकु अस्पताल पुग्नु पर्ने र निजी अस्पतालहरुमा महंगो शुल्क तिर्नु पर्ने भएकाले नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा खोप उपलब्ध भए पछि नगरवासीलाई उपचार लिन सजिलो हुने बताए । उनले बढीभन्दा बढी स्थानमा खोपको प्रबन्ध गर्ने योजना रहेको समेत जानकारी दिए ।

रेबिज बिरुद्धको खोप टेकु अस्पतालबाट निःशुल्क लगाउन पाईन्छ । शुल्क तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा लगाउने पाइने खोप गोकर्णेश्वर नगरपालिकाका स्वास्थ्य चौकीबाट दिन थालिएपछि यस क्षेत्रका बासिन्दा निकै लाभान्वित हुने विश्वास लिइएको छ ।

तत्कालका लागि बालुवा स्वास्थ्य चौकी सुन्ताखान, गोकर्ण प्राथमिक अस्पताल, गोकर्ण र शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा रेबिज बिरुद्धको खोप लगाइनेछ ।