आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

परराष्ट्रमन्त्री खड्काले गरे राष्ट्रसंघको महासभामा सम्बोधन: अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार १०:१६ मा प्रकाशित (२ साल अघि) १४१ पाठक संख्या

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सार्क राष्ट्र अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताए ।

उनले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै आन्तरिक विषय भएको बताउँदै ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको बताए ।

आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले त्यसको विरोध गरिरहेको बताए ।

सम्बोधनका क्रममा मन्त्री खड्काले कोरोना भाइरसविरुद्धको खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक–सामाजिक असर पारेको बताए ।

मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्ने उनले बताए । मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडका कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले देखाएको सहयोगको प्रशंसा गरे ।

बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनले बताए ।

सम्बोधनका क्रममा मन्त्री खड्काले अतिवादको निन्दा गरेका छन् । शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै उनले जुनसुकै प्रकार र स्वरुपका अतिवादको नेपालले निन्दा गर्ने बताएका हुन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले उल्लेख गरेअनुसार परराष्ट्रमन्त्री खड्काले मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिएका छन् ।