आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

दशैका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

गोकर्णेश्वर खबर११ आश्विन २०७८, सोमबार ११:५४ मा प्रकाशित (२ साल अघि) २१० पाठक संख्या

काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।
यी १४ स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसहितका प्रतिनिधि रहन्छन् । टिकट बुकिङको क्रममा केही अप्ठेरो परेमा, कुनै जानकारी लिनु परेमा वा आफू ठगिएको महसुस भएमा यात्रुहरुले तिनै प्रतिनिधिसँग सहयोग लिन सक्नेछन् ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।