आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

एमाले बैठक : ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि जोड

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार १०:१३ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम छ ।

आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलबाट आएका निष्कर्षहरूलाई दस्तावेजीकरण गर्दै आज बैठक सकिने छ । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

तिनै प्रतिवेदनमाथि भूगोलका सात प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले समूहगत छलफल गरेर टोली नेताले निष्कर्ष पेस गरेका छन् ।

सो क्रममा टोली नेताहरूले समाजवादको आधार निर्माण पार्टीको कार्यदिशा हुनुपर्ने सुझाव दिएका छन् । यस्तै पार्टी नेकपा हुँदै विभाजनको कालखण्डबाट गुज्रिएको र फेरि पनि कम्युनिस्ट पार्टीबीच एकताका लागि एमालेले पहल गर्नुपर्ने सुझाव आएको र यसका लागि सबै कम्युनिस्ट दलसँग छलफल गर्नुपर्ने सुझाव समेत बैठकमा पेस भएको छ ।

पार्टीमा युवाहरूको सहभागिता बढाउने र ती सहभागितालाई नेतृत्व र नीति निर्माण तहसम्म लैजाने, पार्टीमा समावेशीतालाई जोडदारसाथ अघि बढाउने लगायतका सुझाव आएको समेत बताइएको छ ।

यस्तै आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै ठूलो पार्टीको रुपमा उभिने गरी अघि बढ्ने र संसदीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने रणनीतिसहित अगाडि बढ्नुपर्ने सुझाव समूहले दिएका छन् ।

समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा समेत सुझाव दिएका थिए । पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको वर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो ।

७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन् ।