आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कांग्रेसलाई बिग्रिन नदिन सभापतिमा लड्छु : प्रकाशमान सिंह

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार १७:३५ मा प्रकाशित (२ साल अघि) १५१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आसन्न १४ औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारेका छन्।

नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गरे।

१४ औँ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने चेतावनी समेत उनले दिएका छन्।

सिंहले सिंगो पार्टी पङ्क्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक पटक दोहोर्‍याए।

नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको बताएका छन्।

‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है। मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं । त्याग, तपस्या, कुर्बानी उहाँहरुले डेमोक्रेसी ल्याउन गर्नु भएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ्ग अवस्था छ, उनले अगाडि भने, यदि हामीले यो लथालिङ्ग अवस्थामा १४ औँ महाधिवेशनबाट पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौँ भने यो पार्टी प्रजा परिषदको बाटोमा जान धेरै दिन लाग्दैन है।

कांग्रेसलाई बिग्रिन नदिन आफू सभापतिमा लड्ने पनि उनले बताए। मैले अनुभव बोकेको छु, देखेको छु। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाहिँ ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ, उनले भने, मैले आफ्नो अनुभवबाट कन्क्लुजन ड्र गरेर अब ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु।’

नेता सिंहले आफूले उपसभापति र महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क गरे।

उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताए। नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरी पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।