आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध छ : देउवा

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार १६:४३ मा प्रकाशित (२ साल अघि) १८२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको बताउँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन, उनले भने ।

पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि बताए ।

कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिए । विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कूल एक करोड ४७ लाखको लागतमा भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि विभिन्न संघसंस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम संकलन गरिएको छ । सङ्कलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई अक्षय कोषमा राखिने उनले जानकारी दिए ।