आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्री जयशंकरले दिए बधाई

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०९:२७ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले डा. खड्कालाई सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । भारतका विदेशमन्त्रीले खड्कासँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए । सोही दिन कार्यभार सम्हालेलगत्तै उनी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् । गएराति न्युयोर्क प्रस्थान गरेका खड्का आज अपराह्न त्यहाँ पुग्दै छन् । सोही सिलसिलामा भारतीय विदेशमन्त्री जयशंकर पनि हाल न्यूयोर्कमै छन् ।

खड्का र जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता हुने छ । अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक स्थगित गरिएको बेला नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको क्रममा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुने गर्दथ्यो । तर यस वर्ष भने यो बैठक रद्द गरिएको छ ।

गत भदौ २९ गतेदेखि जारी संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत मंगलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । सो बैठकमा सहभागी हुन मन्त्री खड्का चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क गएका हुन् ।

परराष्ट्रमन्त्री खड्काले ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।