आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सत्तारुढ गठबन्धनले थाल्यो प्रदेश १ र वागमतीमा नयाँ सरकार गठनको तयारी

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०८:१० मा प्रकाशित (२ साल अघि) ९१ पाठक संख्या

काठमाडौं । सत्तारुढ गठबन्धनबीच प्रदेश १ र वागमती प्रदेशमा नयाँ सरकार गठन गरेर अघि बढ्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको गठबन्धनको बैठकले दुई प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटाएको हो।

गठबन्धनमा रहेका दलहरुबीच प्रदेश १ र वागमती प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

अहिले प्रदेश १ र वागमती प्रदेशमा नेकपा एमालेको सरकार छ। एमालेको सरकार रहेका दुवै प्रदेशमा गठबन्धनकै सरकार गठन गरेर अगाडि बढ्ने समझदारी भए पनि कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल भएको बताइएको छ। तर, बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा ठोस सहमति भने नजुटेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले बताए।

नेता श्रेष्ठले संघीय सरकारको विषयमा बिहीबार फेरि छलफल गरिने जानकारी दिए।

बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई क्रमिक रुपमा पूर्णता दिने बारे छलफल भएको जानकारी दिए।

‘सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘गठबन्धन बलियो बनाएर जाने भन्ने भयो।

महामन्त्री खड्काले बिहीबार बस्ने बैठकमा बजेट पास र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमाथि ल्याउन लागिएको प्रतिस्थापन विधेयक सफल बनाउन लाग्ने समझदारी बनेको पनि जानकारी दिए।

गठबन्धनका विषयमा बाहिर अनावश्यक हल्ला चलाइएको र गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले दाबी गरे।