आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

उपप्रधानमन्त्री नपाए पनि मन्त्री बन्न तयार छु : सुजता

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार १८:४५ मा प्रकाशित (२ साल अघि) १३३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू उपप्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताएकी छन् ।

बुधबार महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

अहिले कुनै एउटा दलको उपप्रधानमन्त्री बनाएको अवस्थामा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी गरी तीनै दलले उपप्रधानमन्त्री माग गर्ने भएकाले पनि कांग्रेसबाट उपप्रधानमन्त्री नियुक्ति नहुने देखिएको छ ।

सोही कारण देखाउँदै कोइरालाले उपप्रधानमन्त्री पद नपाएपनि सरकारमा जान तयार रहेको बताएकी हुन् ।

यसअघि परराष्ट्र मन्त्रीमा उनको चर्चा थियो । तर नेपाली कांग्रेसका नेता नारायण खड्काले आजै मात्र परराष्ट्र मन्त्रीको सपथ लिइसकेका छन् । पौडेल समूहबाट दुईजना मन्त्रीको नाम यसअघि नै देउवाले मागिसकेको समेत कोइरालाले बताइन् ।

तर आफ्नै समूहका नेताहरूको ढिलासुस्तिले मन्त्रीको नाम टुंगो नलागेको समेत उनको भनाई थियो । पौडेल समूहमा मन्त्रीका आकांक्षी धेरै भएकाले कोइराला मन्त्री बन्ने,नबन्ने टुंगो लागेको छैन ।