आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एकीकृत समाजवादीको महासचिव भोली टुंगो लाग्ने

गोकर्णेश्वर खबर६ आश्विन २०७८, बुधबार १८:१२ मा प्रकाशित (२ साल अघि) १८० पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिव तथा पोलिटब्युरोलाई बिहीबार टुंगोमा पुर्‍याउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बिहीबारको बैठकले महासचिवको र पोलिटब्युरोलाई टुंगो लगाउने छ, खतिवडाले भने । बैठकमा अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै एकीकृत समाजवादी अघि बढ्ने बताएका छन् । जबजलाई एमालेले जस्‍तो बेदपुराण हामी बनाउनेछैनौँ । त्यसलाई विकसित गर्दै समृद्धि र समाजवादको लक्ष्यमा अघि बढ्छौँ, उनले भने ।

बैठकले चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको छ । बुधबारको बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा पाँचवटा समूहका नेताले सुझाव दिएका थिए ।

नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र विजय पौडेलको चर्चा छ । राष्ट्रियसभाका सदस्य रहेका भुसाललाई उपाध्यक्ष बनाएर स्कुल विभागको जिम्मेवारी दिनुपर्ने मत पनि छ ।

एमालेको नवौँ महाधिवेशनमा पाण्डे नेपाल प्यानलबाट उपाध्यक्षको उम्मेदवार थिए । नयाँ पार्टी निर्माणमा क्रियाशील उनलाई पनि महासचिवको प्रबल दाबेदारका रूपमा हेरिएको छ । अर्का दाबेदारको रूपमा पौडेललाई पनि लिइएको छ । एमालेमा घनश्याम भुसाल र योगेश भट्टराईको समूहमा रहेको उनले नयाँ पार्टी निर्माण गर्नुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकमा फरक मत राखेका थिए ।

शालीन शैलीका तुलाधरलाई पनि महासचिवको दाबेदारका रूपमा हेरिएको छ । यद्यपि हालसम्म औपचारिक रूपमा कसैले पनि दाबी पेस नगरेको प्रचार विभाग प्रमुख खतिवडा बताउँछन्। अहिलेसम्म कसैले पनि औपचारिक रूपमा दाबेदारी दिनुभएको छैन । बिहीबारसम्म पार्टीले महासचिव पाउँछ, उनले भने ।