आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तात्कालिन एमालेका १४ सांसदको पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुने

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १०:३७ मा प्रकाशित (२ साल अघि) १०५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

१४ जना सांसदलाई कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप एमालेले लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ ।

एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारबाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।