आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

संसद बैठक आज बस्दै,एमालेको अवरोध कायमै

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार ०९:३३ मा प्रकाशित (२ साल अघि) १२५ पाठक संख्या

काठमाडौं । इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज विनियोजन विधेयक पारित गराउने तयारी गरेको छ ।

प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच संसद चलाउँदै आएको अवस्थामा प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका बारेमा छलफल चलाउने भन्दै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको देखिएको हो । एमालेले भने आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ ।