आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर नगरपालिका अपाङ्गता खेलकुद संयोजक केशव थापा प्रवल जनसेवाश्रीबाट विभुषित

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार १३:४७ मा प्रकाशित (२ साल अघि) ४९१ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका खेलाडीद्धय केशव थापा र हिमाल अर्याललाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएकी छिन् । संविधान दिवसका अवसरमा सरकारले विभिन्न खेलाडीहरुसहित अपाङ्गता खेलाडीद्धय थापा र अर्याललाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएको हो ।

ह्विलचेयर टेवल टेनिस खेलाडी थापा गोकर्णेश्वर नगरपालिकाको अपाङ्गता खेलकुद संयोजक समेत रहँदै आएका छन् । संयोजक थापाले स्वदेश तथा विदेशमा विभिन्न प्रतियोगितामा भाग लिइसकेका छन् । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा-७ मा जन्मिएका थापाको २०११ मा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि अपाङ्गता बन्न पुगेका थिए ।

संघर्षनै जीवनको अर्थ हो भन्ने खेलाडी थापाले आफू अपाङ्गता भएपछि झनै जीवन र संघर्षको अर्थलाई बुझ्ने मौका पाएको बताउँछन् । ‘सपाङ्गता हुँदा र अपाङ्गता हुँदा सोचेजति कार्य सफल नभए होलान तर यो जीवनलाई निरर्थक बनाउँनु हुँदैन भनेरै म मेरो शरिर र बलवुत्ताले भ्याउने कार्य गर्छु भन्ने अठोट र संकल्प लिएर अगाडी बढेको छु । कहिले सफलता त कहिले असफलता । यो जीवन चक्र हो । म मेरो कर्मबाट बिचलित भएको छैन् । अझै देशका लागि केही गर्छु भन्ने अभिलासा बोकेर हिडेको छु ।’

थापाले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका थुप्रै खेल खेलेका छन् । थापाले २०१२ देखि ह्विलचेयर टेवल टेनिस खेललाई सुरुवात गरेका थिए । उनको मेहनत, परिश्रम र दृढ अठोटकै कारण २०१४ मा बंगलादेशमा भएको एसकन इन्टरनेशनल टेवल टेनिसमा गोल्ड मेडल हात पार्न सफल भएका थिए । थापाले २०१८ मा एन्डोनेसीयामा भएको पारा एसियन च्याम्पीयनसीपमा सहभागी जनाएका थिए । त्यस्तै २०१९ मा ताइवान पारा एसियन च्याम्पीयनसीपमा सहभागी,२०२० मा जापान ओपन पारा च्याम्पीयनसीपमा सहभागी,२०२० मा थाइल्याण्ड पारा ओपन च्याम्पीयनसीप सहभागी,पोल्याण्ड पारा च्याम्पीयनसीप सहभागी भईसकेका छन् ।

संयोजक थापा खेलाडी मात्र नभई कोचका रुपमा समेत परिचित छन् । उनले गोकर्णेश्वर लगायत विभिन्न स्थानका अपाङ्ग मात्र नभई सपाङ्ग खेलाडीहरुलाई समेत प्रशिक्षण दिँदै आएका छन् ।

प्रशिक्षक थापाले भुटानबाट इन्टर नेशनल पारा टेवल टेनिस कोच लेभल वान को तालिमसमेत लिएका छन् ।

आफ्नो लक्षलाई पूरा गर्न निरन्तर खेल क्षेत्रमा लागेका थापा प्रेरणाको स्रोत हुन । आफ्नो लागि मात्र नभई देशको लागि केही गर्नुपर्छ । सपाङ्गले मात्र होइन अपाङ्गता भएका व्यत्तिmहरुले पनि देशको चिनारी विदेशसम्म पुर्याउँन सक्छन् भन्ने ज्वलन्त उदाहरण केशव थापाले पेश गरेका छन् ।

‘सरकारले अपाङ्गता भएका खेल क्षेत्रमा लाग्ने म जस्ता साथीहरुलाई विभुषित गर्ने घोषणाले हामीलाई हर्षित तुल्याएको छ’ उनले भने ‘अपाङ्गता भएका व्यक्ति जो देशका लागि खेलीरहेका छन् उनीहरु तर्फ पनि सरकार जानकार र सरकारले हौसला प्रदान गरेको छ भन्ने हामीलाई अनुभूती भएको छ । कैयौं अपाङ्गता भएका व्यक्तिहरु हुनुहुन्छ । आफ्नो प्रतिभालाई गुम्साएर लुकाएर राख्नुभएको छ । गुम्स्याउनु भन्दा प्रष्पmुटन गर्नुस् ।अपाङ्गता भएका व्यक्ति पनि केही गर्न सक्छन् भन्ने उदाहरण पेश गर्न पछाडी नपर्नुस् मेरो आव्हान र आग्रह यही छ ।’

खेलकुदबाट को को सम्मानित हुँदै ?

जनसेवाश्रीबाट
–नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ
– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल
–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द
–तेक्वान्दो खेलाडी आयशा शाक्य
–तेक्वान्दो प्रशिक्षक वान योङ्ग डाल (कोरियाली)
–अपाङ्ग खेलाडीद्धय केशव थापा र हिमाल अर्याल ।

सुकीर्ति पदकबाट

–कराँते खेलाडी अनु अधिकारी
–ब्याडमिन्टन खेलाडी दीपक थापा
–तेक्वान्दो प्रशिक्षक नर्वु लामा
–पावर लिफ्टिङ खेलाडी प्रकाश केसी
– खेल आयोजकबाट उत्तम न्यौपाने ।