आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ३ इकाई सभापतिमा जयराम बिष्टको दाबी

गोकर्णेश्वर खबर२ आश्विन २०७८, शनिबार ०८:५६ मा प्रकाशित (२ साल अघि) १८९ पाठक संख्या

२ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा जयराम बिष्टले उम्मेदवारी दावि गर्दै तयारी गरेको बताएका छन् ।

२०५० सालबाट रत्नराज्य लक्ष्मी क्याम्पसमा ने.वि.संघबाट राजनीतिक यात्रा शुरु गरेका बिष्ट विभिन्न सामाजिक, राजनीतिक गतिविधीहरुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा समेत सक्रिय हुँदै आएका छन् ।

राजनीति समाजमुखी, सिद्धान्तनिष्ठ हुनु पर्ने र राजनीति गर्नेले जनताको सेवा र विकासमुखी राजनीतिलाई महत्व दिनु पर्ने बताउने बिष्टले आफूले लामो राजनीतिक र सामाजिक जीवनमा खेलेको भूमिकाको आधारमा इकाई सभापतिमा दावि गरेको बताए ।

अन्तराष्ट्रिय सेवा संस्था लायन्स क्लबको सेवा अभियानमा अग्रभागमा रही सामाजिक सेवा गर्दै आएका बिष्ट सामाजिक सेवामा उत्कृष्ठ योगदान गरेकोमा पटक पटक पदकबाट सम्मानित भएका छन् । स्वतन्त्र टोल सुधार समितिको अध्यक्षको रुपमा ३ नं. वडाको विकासमा सक्रियताका साथ लागि परेका छन् भनें धेरै संघसंस्थामा सल्लाहकारको रुपमा काम गर्दै आएका छन् । उनले अमेरिका, बेलायत, नर्वे, डेनमार्क, स्विडेन, सिंगापुर, मलेशिया, श्रीलंका, चिन, भारत लगायतका देश भ्रमण गरिसकेका छन् ।

निःस्वार्थ रुपमा आफू सामाजिक सेवाका लागि राजनीति गर्दै आएको बताउने विष्टले आफूलाई इकाई सभापतिमा अग्रज, क्रियाशिल, शुभचिन्तकहरुबाट सहयोगको बचनबद्धता पाएकोले इकाई सभापतिका लागी अगाडी बढ्न थप हौसला मिलेको बताए ।

उनले इकाई सभापतिमा विजय भए पार्टीलाई तीनै तहको चुनावमा बलियो बनाउने गरी पार्टी सम्बद्ध सबै पक्ष, भातृसंगठनलाई एकताबद्ध गर्दै चलायमान गराउने गरी सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई सभापतिमा जिताउन सबैको सहयोगको अपेक्षा गर्दै सबैलाई आग्रह गरेका छन् ।